काठमाडौं । सत्तारुढ नेकपा एमालेको एकता टुटाउँदै माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा गराएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन कम्मर कसेर लागेका छन्।
उनले यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई राजी गराएका छन्। तर नेपाल पक्षका सांसदको राजीनामा अनिवार्य आए हुन्थ्यो भन्नेमा छन्।
तर, नेपाल पक्ष र ओली मिल्न सक्ने सम्भावना बढेपछि प्रचण्ड त्रसित अवस्थामा रहेका छन्। एमालेका दोस्रो तहका नेताले एमाले मिलाउनका लागि अभ्यास थालेपछि नेता नेपाललाई भड्काउन प्रचण्डले अनेक प्रपञ्च सुरु गरेको स्रोतको दाबी छ।
तर नेपाल पक्षलाई मनाउनका लागि दोस्रो तहका नेताहरु सक्रिय हुनुका साथै राजीनामा नदिने मुडमा कतिपय सांसद पुगिसकेका छन्। जसले प्रचण्डको मिशन फेल हुने सम्भावना रहेको छ। ‘हामीले राजीनामा किन दिने? जनताले हामीलाई राजीनामा दिन पठाएका हुन् कि निर्णय लिन?’, एक सांसद भन्छन्,‘हामी पार्टीको धारणालाई मान्छौं।’
त्यसो त नेपाल पक्षका सांसद सुरेन्द्र पाण्डेले विश्वासको मतका पक्षमा उभिने बताएपछि प्रचण्ड रन्थनिएका छन्। पाण्डेमात्र होइन स्पष्टिकरण सोधिएका नेपालसहित भिम रावल र घनश्याम भुसालबाहेक कसैले पनि राजीनामा दिने लक्षण नदेखाउँदा प्रचण्डलाई सकस परेको हो।
यसैबीच, प्रधानमन्त्री ओलीले जसरी पनि विश्वासको मत लिने निर्णय गरेका छन्। प्रमुख सचेतक विशाल भट्टराईले संक्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम नरोकिने बताए।
‘कोभिड संक्रमित भएकै कारण कोहि पनि सांसदहरू विश्वासको पक्ष वा विपक्षमा मत दिनबाट वञ्चित हुनुहुन्न। हामी आउनसक्ने जति सबै सांसदहरूलाई सुरक्षित तरिकाले मत दिन आउने व्यवस्था गर्छौँ’, उनले भनेका छन्। भट्टराईका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिनेछ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संक्रमित सांसदहरूलाई छुट्टै हलमा राखेर भए पनि मतदानमा सहभागी गराउन सकिने बताए। विश्वासको मत लिएर अधिवेशन अन्त्य गरेपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने मौका पनि नदिने तयारीमा सरकार रहेको छ।
विश्वासको मत पाउने अवस्था नरहेको खण्डमा प्रधानमन्त्री ओलीले राजीनामा समेत दिन सक्ने कतिपयले आँकलन गरेका छन्।