काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ। सर्वोच्चको आदेशसँगै कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनका लागि ‘निस्सा’ प्रदान गर्ने आदेश दिएको हो।
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघि सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए। अदालतले उक्त निवेदनलाई पुनरावलोकन प्रक्रियामा लैजान अनुमति दिएको हो।
यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षले पुनरावलोकनको निवेदन दिएको थियो।
सर्वोच्चको पछिल्लो आदेशपछि अब देउवा पक्षको निवेदनमा विधिवत् सुनुवाइ हुने भएको छ।
यसैबीच कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि विशेष महाधिवेशनको वैधानिक पक्ष थप स्पष्ट हुने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर विषयको न्यायिक निरूपण गरिसकेको भए पनि पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्ने बताए ।
उनले विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य संयम र परिपक्वताका साथ सर्वोच्च अदालतसमक्ष प्रस्तुत गर्न कांग्रेस पूर्ण रूपमा स्पष्ट, खुला र तत्पर रहेको उल्लेख गरे ।
यसैबीच कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। उपचारका क्रममा हङकङमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने कार्यक्रम तय भएको उहाँनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
देउवा पक्षले साउन २९ गते काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलालाई सम्बोधन गर्न तथा आगामी राजनीतिक रणनीतिबारे मार्गदर्शन दिन देउवा स्वदेश फर्किन लाग्नुभएको बताइएको छ।
देउवा गत चैत ७ गते थप उपचारका लागि सिङ्गापुरबाट हङकङ गएका थिए। त्यसअघि उनी फागुन १३ गते उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलामा पुनरावलोकनका लागि अनुमति दिएसँगै अदालतको आगामी सुनुवाइ र देउवा पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।