आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

पहिरो र बाढीले देशका विभिन्न राजमार्ग अवरुद्ध

आइतबार, साउन १७ २०८३

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु सडकखण्ड कटान गरेपछि उक्त सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।