आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

आज पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आइतबार, साउन १७ २०८३

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका बाँकी अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रानसहितको बाढी, नदी तथा खोलामा जलसतह बढ्ने, पहिरो र भू–क्षयको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।