जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशलाई निरन्तरता दिँदै बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिदका लागि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति दिएको छ।
प्रशासनका अनुसार कर्फ्यु अवधिमा अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी र दूध बोकेका सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहनेछन्।
त्यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा रेडक्रसकर्मीलाई सम्बन्धित निकायबाट जारी परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ।
तीर्थयात्री, बिरामी तथा विमानस्थल आउने–जाने यात्रुलाई पनि आवश्यक परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।
जिल्लामा पछिल्लो समय उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा राख्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्युको समयमा अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा घरबाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।