शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

शनिबार, साउन १६ २०८३

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थान आसपास रहेको छ।

हाल लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा सामान्यतया बदली भएको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।