काठमाडौं । तराई–मधेसका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्च अधिकृतहरूलाई तराईका जिल्लामा खटाएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार कर्फ्यु जारी भएका तथा आसपासका जिल्लामा वरिष्ठ प्रहरी अधिकृतहरूलाई परिचालन गरिएको हो।
उनका अनुसार तराई–मधेसका कर्फ्यु प्रभावित जिल्लामा सुरक्षा व्यवस्थाको अनुगमन तथा आवश्यक समन्वयका लागि सिनियर अफिसरहरूलाई खटाइएको छ।
यस्तै, सशस्त्र प्रहरीले पनि आफ्ना उच्च अधिकृतहरूलाई तराईका विभिन्न जिल्लामा पठाएको छ। सुरक्षा अवस्था थप संवेदनशील हुन सक्ने भएकाले उच्च अधिकृतसँगै थप जनशक्तिका लागि तराई–मधेससँग जोडिएका छिमेकी जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
प्रहरी तथा सशस्त्र प्रहरीले सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम गर्न सुरक्षा उपस्थिति बढाएका हुन्।