मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुनसरी तनावग्रस्त : कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन

सोमबार, साउन ११ २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले नेपाली सेना परिचालन गरेको छ।

आइतबार राति भएको झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको थियो। गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो। घटनामा अन्य नौ जना घाइते भएका छन्, उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर स्थानीय बासिन्दाले कर्फ्यु उल्लंघन गर्दै बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन्।

कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन चर्किएपछि अवस्था थप तनावपूर्ण बनेको छ। यस्तै, सुनसरीको सदरमुकाम इनरुवा र लौकही क्षेत्रमा पनि विरोध प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीहरूले इनरुवा बजार बन्द गराउनुका साथै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सवारी आवागमन अवरुद्ध पारेका छन्।

स्थिति थप जटिल बन्न नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेना परिचालन गरेको छ। यसैबीच, घटनाको छानबिनका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरिसकेको छ भने जिल्लामा सुरक्षा निकायको निगरानी बढाइएको छ।