शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

देउवाको ‘राजनीतिक दुखान्त’

मंगलबार, बैशाख ८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता सभापति गगनकुमार थापाले पाएपछि अब पूर्वसभापति शेरबहादुर देउवाको राजनीति समाप्त नै बनेको छ।

सर्वोच्च अदालतले थापाका नाममा पार्टी जिम्मा लगाउनासाथ राजनीतिक पुनरागमनको झिनो आश राखेका पूर्वसभापति शेरबहादुर देउवा अब सन्दर्भहिन पनि बनेका छन्।

जेनजी विद्रोहका क्रममा गत भदौ २४ गते भौतिक आक्रमण पनि सहनुपरेको, विशेष महाधिवेशनबाट सभापति पदबाट बहिर्गमन र निर्वाचनमा उम्मेदवार समेत हुनबाट बञ्चित देउवाको सर्वोच्चको रातीको आदेशसँगै ‘राजनीतिक दुखान्त’ भयो।

नयाँ सरकार आउनासाथ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ पूर्जी समेत जारी भैसकेका देउवा पत्नी आरजु राणासहित अहिले हङकङमा छन्।

चुनावअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई वैधानिकता दिएको थियो। यसैको आधारमा कांग्रेस निर्वाचनमा होमियो।

आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको रीट निवेदन शुक्रबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विधानका व्यवस्थाहरुलाई नै व्याख्या गरेर विशेष महाधिवेशनलाई वैधता दिएको छ। चार वर्षे कार्यकाल सम्पन्न गरेको देउवा नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन नहुने अवस्थामा विधानले बाध्यकारी मानेको विशेष महाधिवेशन गर्नसमेत उदासीनता देखाएको सर्वोच्चको ठहर छ।

विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन सम्पन्न गर्न, गराउनतर्फ निवेदकहरु उदासीन रहेको अवस्था देखिन आएको सर्वोच्चको आदेश छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संक्षिप्त आदेशमा उल्लेख छ,‘नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले लिखित रुपमा माग गरेपछि बाध्यात्मक रुपमा बोलाउनुपर्ने विशेष महाधिवेशनको माग निष्क्रिय हुन नसक्ने देखिन्छ।’

दुई पटक महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका कारण देउवाका लागि यो निक्कै ठूलो चोट हो भने उनीसँगै कतिपय बुढापाका नेताको राजनीतिक जीवनमा पनि धक्का लागेको छ।

त्यस मध्यका एक पूर्वउपसभापति विमलेन्द्र निधिले छोटो प्रतिक्रियामा अदालतको आदेश मान्न नसकिने बताइसकेका छन्।

निधि मात्र होइन उनीसँगै प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्ण सिटौला र कार्यबाहक सभापति समेत बनिसकेका पूर्णबहादुर खड्काका लागि यो आदेश पैतालाबाट जमिन खस्किएको साबित बन्यो।

थापाको हस्ताक्षरको टिकट लिएर निर्वाचनमा लडेका तर पछि खड्कासँगको गठजोडमा उभिएका डा. शेखर कोइरालालाई पनि नैतिक संकट परेको छ। सभापति थापाले मिलाएर लैजाने प्रारम्भिक प्रतिक्रिया दिए पनि अब कोइरालाको राजनीतिक नैतिकतामाथि गम्भिर प्रश्न उठ्नेछ र त्यसको उत्तर कसरी दिन्छन् भन्ने पनि हेरिएको छ।