मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

ट्रम्पले लगाए थप पाँच देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध

बुधबार, पुष २ २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच मुलुकका नागरिकमाथि रोक लगाइएको ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) का अनुसार यात्रा प्रतिबन्धमा थपिएका देशहरूमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन्।

अमेरिकामा प्रवेश मापदण्डलाई थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत यो कदम चालिएको जनाइएको छ। थ्यांक्सगिभिङ सप्ताहन्तमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि प्रशासनले सुरक्षा जोखिमलाई आधार बनाएर आप्रवासन तथा यात्रासम्बन्धी नीति थप कडाइ गरेको बताइएको छ।

यसै क्रममा प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात बोकेका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा अमेरिका यात्रा प्रतिबन्ध लगाइएको छ।

यसअघि गत जुन महिनामा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा पूर्ण प्रतिबन्ध लगाउने तथा थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए। त्यसबेला अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाइएको थियो।

ह्वाइट हाउसलाई उद्धृत गर्दै एपीले जनाएअनुसार यी प्रतिबन्धहरू आगामी जनवरी १ देखि लागू हुनेछन्।