बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ओलीको व्यक्तिगत स्वार्थविरुद्ध सामूहिक कम्युनिस्ट एकता: भीम रावल

बुधबार, कार्तिक २६ २०८२

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले केपी शर्मा ओलीको अहंकार, सत्ता स्वार्थ र प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठका कारण नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर क्षतिमा पुगेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता–समायोजन कार्यक्रममा बोल्दै रावलले तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) ओलीकै कारण विघटन भएको बताए । उनले भने, ‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो ।

एक जनाको अहंकार, सत्ताको लिप्सा र विरोधी शक्तिसँगको साँठगाँठका कारण नेकपा ध्वस्त भएको दुःखद क्षण आज पनि सम्झन्छु ।’

रावलले दुई तिहाइको सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै प्रहार गरेको स्मरण गर्दै ओलीमाथि तीव्र प्रहार गरे ।

उनले भने, ‘दुई तिहाइका प्रधानमन्त्रीले अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गरेर देशको सार्वभौमसत्तामाथि खेलबाड गरे ।

सर्वोच्च अदालतले संविधान विपरीत भन्यो, तर उनले फेरि प्रतिनिधिसभा विघटन गरे । यो नेपालको कम्युनिस्ट आन्दोलनमाथिको सबैभन्दा ठूलो गद्दारी हो ।’

ओलीको व्यवहारलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै रावलले भने, ‘ओली र प्रचण्डले नेकपाको जम्बु जेटलाई उडाउने भनेका थिए । तर क्याप्टेन ओलीले नै त्यो जहाज सेतीको खोँचमा फाले । प्रचण्डले यात्रुहरू बचाउने प्रयास गरे, तर ओलीको अहंकारले जहाज डुबायो ।

हामी जस्ता सहयात्रीहरूले अन्तिम क्षणसम्म चिच्याएर चेतावनी दिएका थियौँ ।’

त्यतिबेला प्रधानमन्त्रीको कार्यालयमा एकलौटी रूपमा पार्टी बैठक राखेर ९ सय जनाको केन्द्रीय समिति घोषणा गरेको प्रसङ्ग उठाउँदै उनले व्यङ्ग्य गरे, ‘माधव, झलनाथ, वामदेव र म लगायत कसैलाई पनि नबोलाई ओलीले मनपरी ढंगले समिति विस्तार गरे । वाह, कम्युनिस्ट पार्टीका नेता भनाउँदा !’

कार्यक्रमकै क्रममा नेता रावलले राष्ट्रिय सुरक्षाको संवेदनशील विषयमा पनि सरकारको मौनतामाथि प्रश्न उठाए । उनले भने, ‘तीन दिनअघि शक्तिशाली देशको सेनाको ठूलो जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो, तर सरकारले किन आयो भन्ने जवाफ दिन सकेको छैन । पारदर्शिताको कुरा गर्ने सरकारले यो विषयमा किन मौनता अपनायो ?’

रावलले यो घटना राष्ट्रिय स्वाधीनता र सुरक्षामाथिको गम्भीर चुनौती भएको बताए । उनले चेतावनी दिँदै भने, ‘राष्ट्रिय सुरक्षाको बेवास्ता गर्दा भदौ २३ र २४ को जस्तो विनाश दोहोरिन सक्छ । अहिलेको नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला यही हो ।’

रावलका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले अब राष्ट्रिय स्वाधीनता, सुरक्षा र जनताको हितका लागि स्पष्ट वैचारिक र राजनीतिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । डा. रावलका अभिव्यक्तिहरूले प्रष्ट संकेत गरेका छन्- नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरेर देशभक्त, जनमुखी र सिद्धान्तनिष्ठ नेतृत्व आवश्यक छ ।

रावलले ओलीको अहंकारमाथि प्रहार गर्दै नेपाली कम्युनिस्ट पार्टीको एकीकृत र वैचारिक रूपमा दृढ दिशालाई समर्थन गरेका छन् ।