काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्नेछन्।
दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा काठमाडौंले पहिलो खेल खेल्न लागेको हो।
जनकपुर भने यसअघि खेलेको खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले जनकपुर आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ भने काठमाडौं सुखद सुरुवातको खोजीमा मैदान उत्रनेछ।
आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। कर्णालीले यसअघि जनकपुरलाई पराजित गर्दै जित निकालेको थियो। विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
आजका दुवै खेल टोलीका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछन्।