काठमाडौं । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न स्थानमा वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका अन्य भूभागमा भने आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ। मधेस प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ। यी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
शुक्रबार पनि देशभर अधिकांश बदली रहने पूर्वानुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा, चट्याङ र हिमपातका कारण जनजीवन, सडक यातायात तथा हिमाली क्षेत्रमा आवतजावत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।