काठमाडौं । इजरायलमा ९७ प्रतिशत मतगणना सकिँदासमेत प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत हासिल गर्न सकेको छैन। चुनावी परिणाममा पछि परेपछि नेतन्याहुले अरब पार्टीहरूमाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्।
नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने अरब पार्टीहरूले मत ‘चोरेको’ आरोप लगाएका हुन्। उनले निर्वाचनमा घुसखोरी, धम्की, हिंसा, जालसाजी तथा मतदाता परिचालन गर्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको दाबी गरेका छन्।
लिकुड पार्टीले निर्वाचनमा अनियमितता भएको भन्दै सयौँ उजुरी र प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय शिन बेट तथा केन्द्रीय निर्वाचन समितिमा बुझाइरहेको नेतन्याहुले बताएका छन्।
उनका अनुसार केही अरब मतदान केन्द्रमा राुम पार्टीका मतपत्र र नगदसहितका हजारौँ खाम फेला परेका छन्। त्यस्तै, मतदान केन्द्रका कर्मचारीलाई धम्की तथा हिंसा गरिएको, दोहोरो पहिचानमा मतदान भएको र मतदाताको सङ्ख्या तथा मतपत्रका खामको सङ्ख्याबीच अन्तर देखिएको उनको दाबी छ।
नेतन्याहुले निर्वाचनमा भएका भनिएका अनियमितताबारे गहिरो अनुसन्धान गर्न र दोषी देखिएकामाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यद्यपि, उनले लगाएका आरोप स्वतन्त्र रूपमा पुष्टि भएको विवरण उपलब्ध छैन।
मतगणनाको ९७ प्रतिशत परिणामअनुसार नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ। उनका प्रतिद्वन्द्वी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट पाउँदा अरब पार्टीहरूको गठबन्धनले १९ सिट हासिल गरेको विवरणमा उल्लेख छ।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। हालको परिणामअनुसार कुनै पनि प्रमुख गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सकेको छैन। यस्तो अवस्थामा सरकार गठनका लागि अन्य दलको समर्थन जुटाउनुपर्ने देखिन्छ।