काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्न लागेको १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थियो, जसलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकृति दिएका छन्।
अध्यक्ष चौधरीका अनुसार नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू सहभागी हुनेछन्। साथै, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटीका नवीनतम समाधानहरू प्रदर्शनीमा रहनेछन्।
यस पटकको शोको मुख्य आकर्षणमा नेपालमै पहिलोपटक प्रदर्शन हुन लागेका ‘UNETREE Robots’ र ‘Deepal EVTOL UAV’ जस्ता भविष्य उन्मुख प्रविधिहरू रहनेछन्।
भेटका क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेतीलगायतका पदाधिकारीहरूको पनि उपस्थिति थियो।