नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।
अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो ।
डा. सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरेपछि मतदान हुने भएको बताइएको छ ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्।
खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ।
महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओलीलगायतले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार मतदानको समय बुधबार आज १० देखि ५ बजेसम्म तय गरिएको छ ।