काठमाडौं । काभ्रेकी पूर्णीमाया लामाले पूर्व सभामुखसमेत रहेका माओवादी उपाध्यक्ष अग्नि सापकोटविरुद्ध प्रहरीमा दायर गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
बुधबार सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाउन उत्प्रेषणको आदेश जारी गर्ने फैसला गरेसँगै यो मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेसँगै माओवादी केन्द्रमा हलचल मच्चिएको छ ।
यसैबीच विहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बाेलाएका थिए । केन्द्रीय कार्यालयमा भएकाे बैठकमा सापकोटा पनि सहभागी छन् । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भएको थियो ।
सापकोटाविरुद्धको सर्वोच्चको आदेश राम्रो संकेत नभएको माओवादीले बताएको छ । द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीले ठहर गरेकाे छ ।
सर्वोच्च अदालतको आदेश अनुसार नै सत्य निरुपण र बेपत्ता छानबिन आयोगको कानुन बनिसकेको अवस्थामा सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा आयोगमै पठाउनुपर्ने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको भनाइ छ ।