आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवा संघको अध्यक्षमा क्षितिज थेबे दाेहाेरिए

बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । १० औं महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई एक सय ८८ मत अन्तरले पराजित गरी थेबे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

थेबेले सात सय ९६ मत पाउँदा पुरीले छ सय आठ मत पाए । पुरी निवर्तमान महासचिव हुन् । निर्वाचनमा एक हजार सात सय ६४ मतमध्ये एक हजार चार सय चार मत खसेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मङ्गलबार बिहानदेखि विद्युतीय मतदान भएकोमा साँझ परिणाम सार्वजनिक भएको थियो ।

संघको उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह चुनिँदा महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, मधेसी सचिवमा मोबिन अख्तर आलम र महिला सचिवमा निशा लिम्बु सुब्बा निर्वाचित भए।

सङ्घको अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी निर्वाचित भए ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सङ्घको महाधिवेशन शुक्रबार प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।