काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू हुँदैछ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने महासचिव सुमन पुरीले जानकारी दिए।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको उनले बताए।
उनका अनुसार महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन्। तर विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको उनले बताए।
एमालेको पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
युवासंघले महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति र उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेकोे मूल व्यवस्थापन समिति ५ सय ५५ सदस्यीय बनाएको थियाे ।