सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पार्टीका अन्य नेताको उपस्थितिमा गए राति बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो ।
यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आए पनि कार्यान्वयन भएको थिएन ।
२०८० माघ १२ गते भट्टलाई हटाएर बहुमतको आधारमा मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । भट्ट हटाइएपछि सो पार्टीमा आन्तरिक विवाद देखिएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।