काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका छन् ।
आजको बैठकमा भारत(पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।
आज बस्ने मन्त्रिपरिषद बैठकले कामुको भरमा चलिरहेको राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति गर्नसक्ने अनुमान गरिएको छ । विगत एक महिनादेखि नेपाल रुाष्ट्र बैंक गभर्नरविहीन छ ।
सत्ताधारी दल एमाले-कांग्रेसबीच कुरा नमिलेका कारण नयाँ गभर्नर नियुक्ति हुन नसकेको चर्चा चलिरहेका बेला केही दिन अघि कांग्रेस सभापति शेरबहादुर देउवाले अर्कै खुलासा गरेका थिए ।
सरकारले गभर्नर नियुक्तिमा ढिलाइ भएको अपजस खेपिरहँदा देउवाले त्यसको कारण राष्ट्र बैंक नै रहेको बताएका थिए ।
पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘राष्ट्र बैंकको गभर्नरबारे ओलीजीले ल्याएको समस्या होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ कांग्रेसलाई दिने पक्षमा हुनुहुन्छ ।’
गभर्नर बन्ने दौडमा रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टले राजीनामा दिइसके पनि ती राजीनामा हालसम्म स्वीकृत हुनसकेका छैनन् ।
कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले उनीहरूको राजीनामा स्वीकृत नगरेपछि प्रक्रिया थप लम्बिएको छ ।