मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एकपछि अर्को प्रकरणले आलोचित बनेका मन्त्री किराँतीको पद धरापमा

बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं । माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका सुदन किराँती पछिल्ला दिनमा निकै विवादित भएका छन् । उनको काम गर्ने शैलीप्रति आलोचित हुँदै सदनबाट राजीनामासमेत माग्न थालिएको छ । मन्त्री किराँतीले लुम्बिनी विकास कोष अन्तर्गत जग्गा ९९ वर्षका लागि भाडामा दिने विषयले विवाद चरम अवस्थामा पु-याएको छ । उक्त जग्गा प्रधानमन्त्री प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीका छोराको कम्पनीलाई दिन लागेको भन्दै विवाद चर्किन पुगेको हो । संसदीय समितिले उक्त प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइसकेको छ ।

यता, संसदमा भने उनको राजीनामा माग्न थालिएको छ । त्यसैले, अहिले सुदन किराँती चेपुवामा परेका छन् । लुम्बिनीको विवादमा राजीनामा माग गरिएको छ, तर उक्त जग्गामा किराँतीको भन्दा धेरै चासो चाहिँ प्रधानमन्त्री प्रचण्डकै थियो । प्रचण्डकै चासोका कारण घरभेटीका छोरालाई लिजमा दिन कोषका उपाध्यक्ष ल्याहरक्याल लामाले प्रक्रिया अगाडि बढाएका थिए । लामाको नियुक्तिमै पनि किराँतीको भन्दा पनि प्रचण्डको हस्तक्षेपमा भएको थियो । अहिले यो विवादलाई धेरै उचालेर राजीनामा मागिएको भएपनि किराँतीका विवादित काम भने नेपाल पर्यटन बोर्ड, नाथम, पशुपति क्षेत्र विकास कोष, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगममा पनि देखिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण दुईचोटी सोधेर पनि कारबाही गरेनन् । त्यसमा आर्थिक लेनदेनपछि टुंगिएको भन्ने चर्चा चलिरहेको छ । यता, निगममा पनि कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने लामो प्रयास गरेका थिए उनले नसकेपछि अहिले शैक्षिक क्षेत्रका विक्रम राईलाई उपाध्यक्ष बनाएका छन् । बोर्डमा भने तीनजना बोर्ड सदस्य नियुक्ति नै गर्न सकेका छैनन् । अनि, नाथममा त भ्रष्टहरुको आन्दोलनको पक्षमा लागेर नाथमलाई भ्रष्टहरुको अखडा बनाउने खेलमा सामेल भएको आरोप छ ।

तर, प्रधानमन्त्री प्रचण्डसमेत पछिल्ला दिनमा भने मन्त्री किराँतीसँग खुसी छैनन् । छोरी गंगा दाहालले भनेका कतिपय काम किराँतीले नगरेका कारण उनीहरुबीच पनि दुरी बढेको बताएको छ । त्यही कारण सदनमा आवाज उठेकै मौकाममा किराँतीलाई विकल्प खोज्न आग्रह गर्न सकिने माओवादीभित्र चर्चा भइरहेको छ । किराँतीलाई हटाएर माओवादीले नुवाकोटका हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी गरेको चर्चा पनि छ ।

तामाङलाई पहिला नै मन्त्री बनाउने तयारी थियो । कोटा अभाव भएका कारण तामाङलाई मन्त्री बनाइएको थिएन । किराँतीको सट्टा तामाङलाई मन्त्री बनाउने तयारीमा प्रचण्ड रहेको माओवादी स्रोतको दावी छ । हुन त, सोनाम ल्होसारको बेलामा प्रचण्डले गतवर्ष र अहिले पनि मन्त्री हेरफेर हुँदा तामाङलाई मन्त्री बनाउने वचन दिंदै आएका छन् ।
-साँघु न्यूजबाट