काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बन्ने क्रम जारी रहेको बताएका छन् ।
१३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
साथै प्रधानमन्त्री प्रचण्डले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने समेत बताए ।
‘‘चार महिने अभियान पुस १६ गते समापन हुँदैछ। त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियामा जनतामा नै जान्छौँ। त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं।’’ उनले भने ।
१३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औल्याए ।
उनले भने, ‘‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ। सबैभन्दा ठूलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ। आजको मुख्य चुनौती यही हो।’’
अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा जोड दिए । उनले अगाडी भने, ‘‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो। त्यसकै आधारमा हामी अगाडि बढ्छौँ।’’