काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताए । यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पारे ।
यस अभियानले उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको समेत बताए ।
जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताए। यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले जिकिर गरे। हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताए । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उनले दाबी गरे ।
अध्यक्ष ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको बताए। विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको अध्यक्ष ओलीले प्रष्ट पारे।
युवा पंति देश छाडेर विदेश पलायन भएको अवस्था गम्भीर रहेको बताउँदै उनले नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको उनले बताए ।