काठमाडौं । सरकार गठनको करिब एक वर्ष पुग्नै लाग्दा सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूको एक वर्षीय कार्यकालको समीक्षा गर्नुपर्ने माग उठाएका छन्।
प्रचण्डले तेस्रोपटक मुलुकको नेतृत्व सम्हालेको पुस ११ मा एक वर्ष पुग्नैलाग्दा कांग्रेसका नेता डा. कोइरालाले आफूहरूलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको बताए ।
उनले सोमबार कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भने– ‘प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोज्नुभएको रहेछ । त्यो ठिकै हो तर, उहाँले आफ्नो रिपोर्ट कार्ड पनि देखाउनुपर्यो। मैले सुनेको, ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्नु भन्नुभएको छ । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको पनि रिपोर्ट कार्ड मागिरहेको छु।’
कांग्रेसका नेता तथा अर्थमन्त्री प्रकाशशरण महतसमेत सहभागी सो कार्यक्रममा कोइरालाले संसदीय व्यवस्थामा अर्थमन्त्रीले राम्रो वा नराम्रो जे गरे पनि त्यसको सबै जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने टिप्पणी गर्दै डा. कोइरालाले भन– ‘प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने रु हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ।’
अहिले गणतन्त्रमाथि देशैभर ठूलो आक्रमण भइरहेको, सरकार र राजनीतिक दलहरूप्रति जनतामा निराशा र आक्रोश छाएको भन्दै नेता कोइरालाले उक्त आक्रोश र निराशा गणतन्त्र, संघीयताप्रति नभई नेतृत्वप्रति भएको जिकिर गरे।
कोइरालाले आफूहरूले राम्रो काम गर्न थाल्ने हो भने पक्कै पनि गणतन्त्रका विरुद्धमा राजतन्त्रका कुराहरू नआउने दाबी गरे
गत वर्ष पुस १० मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा सरकारको नेतृत्व गरेका प्रचण्डले केही महिना गठबन्धनको फेर बदलमै बिताएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारका सहभागी मन्त्रीको काम नागरिकमा उत्साह जगाउने खालको नभएको सत्तारुढ दलहरूकै नेताहरूको टिप्पणी हुन थालेको छ । उनीहरूले एक वर्षमा अधिकांश मन्त्रीको कार्य प्रगति निराशाजनक रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।