भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने चेतावनी दिइएको छ ।
विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरुले नआउन र आएमा कालोझण्डा देखाउने तथा विरोधमा अनसन बस्ने चेतावनी दिएका हुन् ।
कार्यक्रममा नआउन भन्दै स्थानीयले राष्टपतिसमक्ष ज्ञापनपत्र पनि पठाएका छन् । पीडितमध्येका एक स्थानीय जीवन ढुंगानाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई विषय अवगत गराउँदै उनीमार्फत राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । अदालतबाट परमादेशसमेत जारी भइसकेको जग्गामा निर्मित अवैद्य संरचनाको उद्घाटन गर्न राष्ट्रपति स्वयम् आउने कुराले कानुनी राज्य र लोकतन्त्रको उपहास हुने ज्ञापनपत्रमा उल्लेख छ । आफूहरुको उठिबास नै हुने गरी बनाइएको विवादित भबन उदघाटन गर्न लागेको तयारी भएकाले आएमा आफू अनसनसमेत बस्ने चेतावनी पीडित ८० वर्षीय जेष्ठ नागरिक लीलानाथ ढुंगानाले चेतावनी दिए । बताइएअनुसार नगरपालिकाले व्यक्तिगत हक भोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएको हो ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउने (नगरकोट रोड) मा नगरपालिकाले व्यक्तिले भोगचलन गरिरहेको जग्गा हडपेर करिब ५० करोड लागतमा भवन बनाएको हो । तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र नगर प्रमुख सोमप्रसाद मिश्रले शिलान्यास गरेको भवनलाई पछिल्लो पटक मेयरमा विजयी भएका नगर प्रमुख जीवन खत्रीले निरन्तरता दिंदै उदघाटनको तयारी गरेका हुन् ।
नगरवासीको सेवाका लागि बन्ने प्रशासकीय भवनको शिलान्यासमै स्थानीयले पुस्तौदेखि भोगचलन गर्दै आएको जग्गा प्रयोग भएको भन्दै विरोध भएको थियो । नगर प्रमुख जीवन खत्रीले जमिन विवादित रहे पनि मुद्दा नगरपालिकाले नै जित्ने जिकिर गरे । आफूले पुरानो कामलाई निरन्तरता मात्र दिएको दावी गर्दै प्रमुख खत्रीले अदालतको आदेशानुसार ढुंगाना परिवारको घर नछोइएको तर जग्गा सम्बन्धी निर्णयमा नापी र मालपोतले स्पष्ट नपारेको बताए । उनले उक्त मुद्दा नगरपालिकाले जित्ने जिकिर गर्दै भवन उदघाटनको बचाउ गरे ।
चाँगुनारायणका मेयर निवर्तमान मेयर सोमप्रसाद मिश्रले आफूहरुले सार्वजनिक जग्गामा नै भवन शिलान्यास गरेको दावी गर्दै मुद्दा जित्ने ठोकुवा गरे । अदालतले जग्गा छोड्न अन्तिम आदेश गरे पूरै भवनसहित छोड्ने उनको भनाइ छ ।