आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशी प्रदेश प्रवेश गर्दै एमालेकाे संकल्प यात्रा : आज खुर्कोटकाे भेटघाटपछि उदयपुरकाे घुर्मीमा सभा

मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गर्दै छ ।

गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको हो । हिजो राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।

आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदैछ । उक्त सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले उदयपुरले जनाएको छ । सभाका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने बताइएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।