आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय सभा निर्वाचन : एमालेलाई नील बनाउने गरी सत्तारुढ दलहरूकाे भागबण्डा

शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयन गर्न आगामी माघ ११ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ दलहरू भागबन्डानजिक पुगेका छन् ।

सत्तारुढ दलहरूबीच भागबन्डामा भएको मोटामोटी सहमतिअनुसार १९ सीटमध्ये सत्तारुढ कांग्रेसले ९, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र जसपाले १ सदस्य पाउनेछन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था छ । अध्यक्ष तिमिल्सिनाको पदावधि फागुन २० गतेबाट सकिँदै छ ।

रित्त हुने अध्यक्षमा सत्तारुढ दल कांग्रेसले दाबी गरेको छ । उसले कृष्णप्रसाद सिटौला वा गोपालमान श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बनाउने चर्चा चलिरहेको छ ।

कांग्रेसले बागमती र गण्डकीमा २–२ सीट पाउँदा कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १–१ सीट पाउने छ । माओवादीले सुदूरपश्चिममा २, कोशी, बागमती, गण्डकी र कर्णालीमा १–१ सीट पाउनेछ । माधव नेपाल नेतृत्वको समाजवादीले बागमतीमा २ र कर्णालीमा १ सीट पाउने समझदारी भएको एक नेताले दाबी गरे । यसरी गरिएको भागबण्डाले राष्ट्रिय सभामा एमाले नील हुनसक्ने छ ।

राष्ट्रिय सभामा एमालेका ८ सांसद यसपटक बिदा हुँदैछन्, जसमा गण्डकीका गणेशप्रसाद तिमल्सिना र दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा पार्वती र रामचन्द्र राई, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, लुम्बिनीबाट कुमार दसौधी र सुदूरपश्चिमबाट इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

कांग्रेसबाट कोशीमा रमेशजङ्ग रायमाझी, मधेशमा  जीतेन्द्रनारायण देव, गण्डकीमा प्रकाश पन्थ र लुम्बिनीमा अनिता देवकोटाको पदावधि सकिन लागेको हो ।

माओवादी केन्द्रबाट कोशीमा विना पोखरेल, सुदूरपश्चिममा हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिँदैछ । नेकपा एसबाट बाग्मतीमा सिंगबहादुर विश्वकर्मा र कर्णालीमा नन्दा चपाईको पदावधि सकिन लागेको छ ।

जससाबाट प्रमिला कुमारी र स्वतन्त्रतर्फ बागमतीबाट जितेका खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

मतदान कार्य माघ ११ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने बताइएको छ ।

मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना कार्य हुने जनाइएको छ ।