आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले नयाँ सरकार बनाउन, प्रचण्ड सरकार जाेगाउन जुटे

सरकार जाेगाउन र नयाँ बनाउन रास्वपा र जसपा तानतानमा

शनिबार, मंसिर २ २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चाडवाडपछि सरकारमा नयाँ पार्टीलाई भित्र्याउने काेसिसमा रहेका बेलामा अर्को समूह भने प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर नयाँ सरकार बनाउने मनस्थितिमा पुगेको छ । प्रधानमन्त्री प्रचण्ड सरकारमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने प्रयासमा रहेका छन् भने रास्वपालाई सरकारमा ल्याउँदा जसपालाई सरकारबाट बाहिर निकाल्न पनि प्रचण्ड तयार रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

रास्वपा सरकारमा जान तयार भएपनि उसका लागि प्रधानमन्त्री प्रचण्डले विगतमा वातावरण मिलाएका थिएनन् । अहिले भने प्रचण्ड नै सरकार जोगाउन रास्वपालाई सरकारमा ल्याउने प्रयासमा लागेका हुन् । जासपाले सरकार छोड्ने अवस्थामा रास्वपालाई साथ लिन प्रचण्ड तयार भइसकेका छन् ।

त्यसैले, पछिल्ला दिनमा जसपा र एमाले बिच अनौपचारिक छलफलहरु बढी हुन थालेका छन् । एमाले र जसपा नयाँ समीकरणका लागि छलफलमा जुट्न थालेका छन् । तर, नेताहरुले औपचारिक रुपमा यो कुरा भने बताउन चाहेका छैनन् । प्रचण्डसँग रुष्ट रहेका उपेन्द्र यादवलाई सरकारबाट हटाउन अहिले भारत निकट रहेकाहरू सहित मधेशका नेताहरु प्रभु साहदेखि सीके राउतसम्म लागेका छन् ।

त्यही मौकामा जसपाले एमालेसँग हात मिलाउने प्रयास गरेको चर्चा छ । उनीहरुवीच सरकार गठनका लागि आवश्यक संख्या पुर्याउने गरी छलफल हुन थालेको स्रोतको दाबी छ ।

आलोपालो प्रधानमन्त्री हुने रणनीतिसहित उनीहरु अगाडि जान सक्ने बताइन्छ । एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादववीच गोप्य छलफल भएको समेत दाबी गरिएको छ । तर, स्वतन्त्र पुष्टि भने भएको छैन । तर, एमाले र जसपाका नेताहरुवीच अनौपचारिक छलफल भने भइरहेका छन् ।

यद्यपि, जसपाभित्र एमालेसँग मिल्न नहुने लाइन पनि रहेका कारण कतिपय नेताहरुले भने उपेन्द्रको उक्त गतिविधिको आलोचना गरिरहेका छन् ।

सांसद प्रदीप यादवसहितको टोली उक्त लाइनमा रहेको बताइन्छ । अझ कतिपयले त अन्तर्राष्ट्रिय शक्ति केन्द्र अहिले जसपा विभाजन गराउने खेलमा रहेको पनि चर्चा भइरहेको छ । हुन पनि , जसपाभित्र असन्तुष्टि चर्किरहेको छ ।

मुख्यमन्त्री सरोज यादवदेखि केन्द्र सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोको कामप्रति सांसदहरु असन्तुष्ट रहेका छन् । शिक्षामन्त्री अशोक राईले पनि काम गर्न नसकेको र पार्टीलाई पनि सहयोग नगरेको सांसदहरुको आक्रोश रहेको छ।

एमालेसँग जसपा जोडिन आए राप्रपाको पनि साथ हुनेछ । एमाले अध्यक्ष केपी ओलीले विगतदेखि रास्वपालाई आफ्नो साथमा लिन सकिने बताइरहेका छन् । त्यसैले, यो समीकरण बन्ने संभावनाबारे पनि अहिले राजनीतिक वृत्तमा चर्चा भएको हो । रास्वपा भने अहिले दुवै पक्षका लागि तानातानमा परेको छ ।

जसपा, राप्रपा र रास्वपाको साथमा एमाले केन्द्रको सरकार परिवर्तन गर्ने प्रयास गर्दा प्रदेश सरकार भने फेर्न सक्ने अवस्था हुँदैन । त्यसका लागि माओवादी केन्द्र वा कांग्रेसले नै साथ दिनुपर्ने हुन्छ । साँघु न्यूजबाट