आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संखुवासभा विभत्स हत्या प्रकरण फलोअप: ४० जनाको प्रहरी टोली घटनास्थलमा, ४ दिनसम्म पनि कुनै क्लू फेला परेन

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण थप जटिल बन्दै गएको छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले पनि केही तथ्य पत्ता लगाउन नसकेपछि  धरान फर्काइएको छ ।  घटना भएको ४ दिन वितिसक्दा पनि कुनै क्लु नभेटिएपछि अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल पुगेका छन्  । 

विभत्स हत्याको घटना थप रहस्यमयी बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी आज साँझ मादी पुगेका हुन् । यद्यपी प्रहरीले भने  हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको दाबी गरेको छ ।  अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका  प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको भनाई छ ।  

हत्याकाण्डको अनुसन्धानमा  विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालित  छन् । हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दे प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेकाले परिणामबारे हतार नगर्न प्रहरी नायब उपरीक्षक सुवेदीले आग्रह गरे । 

अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा  चार लाख ७१ हजार रुपैया र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरसहित टोलीले हिजोदेखि नै घटनास्थलको अध्ययन गरिरहेको छ । 
यसैबीच, 
मादी–१ खोलागाउँमा हत्या गरिएका तेजबहादुर कार्कीसहित ६ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिसकिएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षणपछि बुढीखोला घाटमा उनीहरुको सामूहिक अन्त्येष्टि गरिएको हो । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान पुगेका थिए ।