आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संखुवासभा हत्या प्रकरण : फलोअप

बुधबार, भाद्र २३ २०७८

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरे पनि अहिले नै यकिन भन्न सक्ने अवस्था नरहेको जनाएको छ ।  सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थलमा  सुक्ष्म अध्ययन तथा अनुसन्धान जारी राखेको हो ।  घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । 

तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायतको टोली पनि घटनास्थल पुग्दै छ । 
८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका हुन् । 

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्नेमा प्रहरी नै अन्योलमा  छ । स्थानीयवासी बौद्धमानका अनुसार सपरिवार बेलुका ६/७ बजेतिर खाना खाएर सुतेका थिए । बिहान एक्कासि यस्तो देख्दा आफु अचम्ममा परेको बौद्धमानको भनाई छ ।  

घटनामा परेकाको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्याण्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन । 

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेका चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए  हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमेको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो । उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो ।

परिवारको सामूहिक हत्या हुँदा पनि जोगिएका बौद्धमानले आफू मर्ने बेला छोरा बुहारीको विभत्स लाश हुर्नु परेको दुःखेसो गर्ने गरेका छन् । उनले चाँडोभन्दा चाँडो हत्यारालाई कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् ।