काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोली घटनास्थल पुगेपछि संयुक्तरुपमा अनुसन्धान सुरु भएको हो ।
हिजोदेखि घटनास्थलमै रहेका सबै शव संकलन गरि पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ टिमले यो सामूहिक हत्या काण्डको सुक्ष्म अध्ययन गर्ने भएको छ ।
घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले गहन अनुसन्धान गर्ने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
हिजो बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध बाहेक घरमा रहेका सवैको सामूहिक हत्या गरिएको थियो । पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।