काठमाडौं । एकै परिवारका ६ जनाको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा जादै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी जादै गरेको हो ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्छ । सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको थियो ।
तेजबहादुरको शव रोडको भित्तामा फेला परेको इलाका प्रहरी कार्यालय मादीका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ । तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव भने खोल्सामा फेला परेको खतिवडाले बताए ।
त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको अवस्थामा भेटिएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।