आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानसेनापति थापाको सैनिक जीवनबाट बिदाइ

सोमबार, भाद्र २१ २०७८

काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ। उनको कार्यकाल भदौ २४ गते सकिँदै छ।

सर्वोच्चका न्यायाधीश, कामु प्रधानसेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुलगायतको उपस्थितिमा प्रधानसेनापति थापाको बिदाइ गरिएको हो।

कार्यक्रमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न अतुलनीय योगदान पुर्‍याएको भन्दै बधाई दिए।

आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि सदैव सहकार्य हुने धारणा पनि सचिव शर्माले व्यक्त गरे।

कामु प्रधानसेनापति प्रभुराम शर्माले महारथी थापाको ३ वर्षे प्रधान सेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको भन्दै बधाई दिए।

कार्यक्रमको अन्त्यमा प्रधानसेनापति महारथी थापाले पद्धति र प्रणालीलाई आत्मसात गर्ने आधारभूत चरित्रको निर्माणले नेपाली सेना आधुनिक र व्यवसायिक सेनाको रुपमा कायम हुने विश्‍वास व्यक्त गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरुको कार्यान्वयन तथा अन्य विविध सकारात्मक प्रयासहरुमा निरन्तर सहयोग गर्ने रक्षा मन्त्रालय लगायत अन्य सबैमा हार्दिक कृतज्ञता व्यक्त गरे।

यसअघि प्रधानसेनापति थापाले कामु प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झण्डा, प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गरेका थिए। थापाको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।