बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्राविधिक बिश्लेषण नगरि लगानीकर्ता सेयरबजारमा होमिएले जोखिम न्यूनीकरणका निम्ती बोर्डले अध्ययन गर्ने

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौंं । सेयरबजारमा अहिले वर्षाैदेखि प्रतिफल  नै दिन नसकेका कम्पनीको समेत सेयर मूल्य अकासिएको छ। राम्रो नाफा दिन  सकेका कम्पनीको खासै नबढ्नु र त्यसको साटोमा प्रतिफल दिन नसकेका कम्पनीको भाउ आकासिएसँगै धितोपत्र बोर्डले यसमा अध्ययन  थालेको छ ।

अहिले बिशाल बजार कम्पनीको मूल्य ६ हजार ६ सय २३ रुपैयाँ पुगेको छ । जसले अहिलेसम्म लगानीकर्तालाई कुनै लाभांस नै दिएको छैन ।  ५ करोड चुक्ता पुँजीको यो कम्पनीको मूल्य गत वर्षको साउनमा प्रतिकित्ता १५ सय ५० रुपैया थियो । अर्थात लाभांस दिने कुनै पनि  संकेतसम्म नहुँदा यो कम्पनीको मूल्य साढे तीन गुणाले बढेको छ ।

यता अघिल्लो वर्ष ३० प्रतिशतको हाराहारीमा लाभांस दिएको एनएमबी बैंकको मूल्य अहिले  प्रतिकित्ता चार सय ४७ रुपैयाँ  छ । तर, सोहि दरमा लाभांस दिने साल्ट ट्रेडिङको मूल्य १० हजार ८ सय दुई र कायम छ ।

१५ प्रतिशत भन्दा बढि लाभांस दिन नसकेका फाइनान्स कम्पनीका मूल्य पनि १  हजार माथि छन् । जसले गर्दा कतै सर्कुलर ट्रेडिङ गरेर बजार बढाउनेहरु सक्रिय भएका त होइनन् भनेर बजारमा आशंका बढेको छ ।  त्यसैले  केहि दिन अघि सेयरबजारमा केहि समुह मिलेर अस्वाभाविक रुपमा बजार बढाएको भन्दै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत रहन आग्रह  मसेत गरिसकेको छ ।

गत वर्षको साउन ६ गते खानी खोला जलविद्युत आयोजनाको मूल्य  सेयरबजारमा प्रतिकिा ४५ रुपैयाँमा कारोबार भएको थियो । जसको मूल्य बिहिबार २ सय ५० रुपैयाँ कायम भएको थियो । अर्थात एक वर्षको मूल्यमा यसको मूल्य साढे चार गुणाले बढेको छ । यसले अहिलेसम्म आफ्ना लगानीकर्तालाई लाभांस दिएको छैन । ४६ करोडको यो कम्पनी अहिले ६६ करोड घाटामा छ । तरपनि लगानीकर्ताको आकर्षण यसमा कमि  छैन ।

स्थापनाकालदेखि अहिलेसम्म लाभांस दिन नसकेको नेशनल हाइड्रोपावरको मूल्य अहिले २ सय ८१ रुपैयाँ पुगेको छ । जसको गत वर्षको साउनमा प्रतिकित्ता मूल्य ४९ रुपैयाँ थियो । लाभांस दिने कुनै संभावना नरहेको भएपनि यसको मूल्य पौने पाँच गुणा बढेको छ । 

शंकास्पद कारोबार बढेपछि  धितोपत्र बोर्डले सेयरबजारमा अस्वाभाविक रुपमा भाउ बढेका कम्पनीहरुको बारेमा छानवीन गर्न थालेको छ ।

बोर्डले सर्कुलर ट्रेडिङको आशंकामा जनउत्थान लघुवित्त, पूर्वाधार बिकास बैंक, अजोड इन्स्योरेन्स, अपि र राधी जलविद्युत लगायतका कम्पनीको छानबिन थालेको  छ।

फ्रेस भ्यालुभन्दा नेटवर्थ कम भएका, मूल्य आम्दानी अनुपात पीइ १ सयभन्दा बढि भएका र प्रतिकित्ता सेयर आम्दानी ऋणात्मक रहेका कम्पनीको दिनप्रतिदिन उचालिएको सेयर मूल्य शंकास्पद रहेको भन्दै बोर्डले त्यस्ता कम्पनी माथि छानवीन थालेको हो ।

स्रोतका अनुसार बोर्डले अस्वाभाविक रुपमा मूल्य बढाइएको आशंकामा ५६ वटा कम्पनीको सेयर कारोबारमाथि छानबिन सुरु गरेको हो ।