बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खोला खोतल्नेलाई कसैले रोक्न सकेनन्

आइतबार, जेष्ठ ३० २०७८

बुटवलको देवीनगर क्षेत्रमा जनताको तटबन्ध कार्यक्रम अन्तरगत लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध नजिकै ठुल्ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । प्रगतिनगर र अपाङ्ग आश्रमको ठीक तलपट्टि खोलामा हिजो (शनिबार दिउँसो ४:३० बजे ) एउटा स्काभेटरले जथाभावी उत्खनन गर्दै छेउमै लामबद्ध खडा रहेका ट्याक्टर भर्ने काम गरिरहेको थियो ।

 

जहाँ स्काभेटरले नदीजन्य पदार्थ खनिरहेको छ,त्यहीँ नजिकैको ढिस्कोमा गत साल निर्मित जनताको तटबन्ध छ । उक्त तटबन्धको जग सबै खोतलिरहँदा माथि रहेको तटबन्धले अबको बर्षामा तिनाउमा उर्लिने बाढी छेक्ला कि नछेक्ला त्यो भविश्यले देखाउला ।

तटबन्ध नजिकै घर बनाएकाहरु पनि निषेधाज्ञाको कारण अन्य रोजगारीको बाटो बन्द भएपछि बोरामा बालुवा भर्न ब्यस्त देखिन्छन् । यतिबेला तिनाउका बगरमा बालुवा भर्नेहरुको ताँती नै लागेको छ ।

स्थानीय सरकारले भने क्षेत्र तोकेर नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । उनले भने, “जनताको तटबन्ध नजिकै त्यसरी उत्खनन् भएको भए हामी कारबाही गर्छौँ । नगरपालिकाले कानुनबमोजिम ज्येष्ठ मसान्तसम्म ठेक्का लगाएर उत्खनन् गर्नेगरी अनुमति दिएको हो ।”

नगरपालिकाले अनुमति दिएको भएता पनि ठेकेदारले भने मनपरी सङ्ग नदी दोहन गरिरहेको छ । देवीनगर,रानीगन्ज,मगरघाट क्षेत्रमा यतिबेला जथाभावी दोहन भइरहेको छ ।

यसैगरी सियारिको धनसर, देवदहको घोडाह ,भलुही, चरङ्गे र टटेरामा पनि नगरपालिकाले दिएको अनुमतिभन्दा बढि उत्खनन् भइसकेको छ । तर स्थानीय सरकारका प्रतिनिधि मौन छन् । घोडाहामा गौरवको आयोजनाको नाममा जथाभावी उत्खनन् भइरहेको छ । घोडाहामा प्रदेश वन मन्त्रालयले उत्खनन् गर्न नमिल्ने भन्दै तीन दिनसम्म रोक समेत लगाएको थियो तर खोलाका डनहरुको अगाडि मन्त्रालय निरीह बन्न पुग्यो । वनले रोक्दारोक्दै जिल्ला समन्वयको एउटा सामान्य पत्रको आधारमा घोडाहा खोलामा पुन उत्खनन् भइरहेको छ । देवदहका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,खोला रोक्ने वन कार्यालय,प्रदेशका वनमन्त्री,सिडिओसमेतलाई सेटिङ मिलाएपछि ठेकेदारले पुनस् खोला खन्ने अनुमति पाएको छ । यद्यपि वन कार्यालयले पहिले उत्खनन् नगर्न पत्र पठाएको थियो तर पछि खोल्नु भनेर पत्र पठाएको छैन । यसरी वनले रोक्दारोक्दै वन क्षेत्रमा रहेको घोडाहामा अहिले पनि उत्खनन् भइरहेको छ ।

यता ठेकेदारहरुले तोकेको नदीजन्य पदार्थ बराबरको उत्खनन् गरिसकेको भन्दै तिलोत्तमा नगरले भने आफ्नो क्षेत्रमा लगाएको नदीको ठेक्कामा रोक लगाइसकेको छ । जबकि ती सबै ठेक्काको समय जेठ मसान्तसम्म थियो । तिलोत्तमा नगरले अनुगमन गरेपश्चात् तोकेको परिमाण निकालेको देखेर रोकेको हो । तिलोत्तमाले त्यसरी हिम्मत गरिरहँदा अन्य पालिका भने ठेकेदारलाई जेठ मसान्तसम्म समय दिएको भन्दै चुप बसेका छन् । जनआश्था साप्ताहिकमा खबर छ l