बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहकाे सर्कुलर : ७७ जिल्ला मै निषेधाज्ञा खुकुलाे पार्ने

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडाैँ – गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिएको हो।

पदभार ग्रहणपछि गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका थिए।

गृहमन्त्री अधिकारीको निर्देशन अनुसार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको हो।

मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४सै घण्टा खटिनुपर्ने उल्लेख गर्दै कार्यालयसमय भनेर पन्छिन नहुनेमा जोड दिएका थिए।

परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ।

गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न पनि भनिएको छ।

परिपत्रमा निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउँदै लैजाने गरी अवधारणा ल्याउन भनिएको छ।

‘हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा एवं जनस्वास्थ्यमा नकारात्मक असर नपर्ने गरी र स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारी अघि बढाउने’, गृहको परिपत्रमा उल्लेख छ।

यस्तै चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन र नियमनलाई पनि कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।

परिपत्रमा सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ।