आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सशस्त्र एआईजी पुष्पराम केसी प्रकरणमा अख्तियारले गृहलाई लेख्यो पत्र

बिहिबार, जेष्ठ २७ २०७८

काठमाडौं ।  सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक (एआईजी) पुष्पराम केसीविरुद्ध अनियमितता गरेको विषयमा बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्र लेखेको छ। 
५० लाख भन्दा बढी कमिशन प्रकरणमा उजुरी परेको भन्दै अख्तियारले त्यसका विषयमा जानकारीसहितका कागजात उपलब्ध गराउन गृहलाई पत्र लेखेको बताइएको छ।

 
तालिम केन्द्रको प्रमुखका रुपमा एक बर्ष काम गर्दा विभिन्न शीर्षकमा कमिशन लिएको उजुरी अख्तियारमा परेपछि त्यसको छानबिन सुरु गरिएको थियो। साउन २०७६ देखि ०७७ को असारसम्म तालिम केन्द्रमा हुँदा विभिन्न खरिदमा कमिशन खाएको केसीमाथि आरोप छ। नक्कली बिल बनाएर ५० लाख रूपैयाँ अनियमितता गरेको उजुरी परेको बताइएको छ। उजुरीको प्रतिलिपीसहित गृह मन्त्रालयलाई अख्तियारले पत्र पठाएको हो। कार्यविधिविपरीत तालिम भत्ताको नाममा थोरै रकम वितरण गरेको, गाडी मर्मत तथा इन्धन खर्चका नाममा १६ लाखको नक्कली बिल बनाएको, लत्ताकपडा र जुत्ता खरिद गर्दा जुत्ताबाट मात्रै ७ लाख कमिसन लिएकोलगायतका विवरण उजुरीमा उल्लेख गरिएको बताइन्छ। 

प्रत्येक तालिम केन्द्रबाट मासिक अवैध रूपमा पैसा उठाउने गरेको, तालिम केन्द्रमा कार्यरत कर्मचारीलाई जबरजस्ती बीमा गर्न लगाएर २० लाख कमिसन खाएकोसम्मको उजुरीमा उल्लेख रहेको स्रोतले बतायो।
आईजी बन्ने दौडमा रहेका कारण अहिले सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनाललाई राजनीतिक चेपुवामा पार्नेदेखि असहयोगमा लागेका केसी आफैं छानबिनको दायरामा परेका हुन्। उनले राजनीतिक दबाबका आडमा एआईजीको पदावधि थप गर्ने निर्णय गराएका थिए भने लामो समय आईजी बन्नका लागि संगठनको हितविपरित निरन्तर लागेको आरोप छ।