झापा,l कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी उट्पट्याङ प्रतिक्रिया दिदै संक्रमणको महामारीलाई हल्का रुपमा लिएका छन् l
बुधबार झापाको बिर्तामोडमा रहेको सूर्योदय टेलिभिजनको अन्तर्वार्तामा ‘सुनका गहनामा कोरोना भाइरस चाँडो आर्कषित हुन्छ, फुकालेर राख्नु’ भनेर अन्तर्वार्ता दिएपछि शिवाकोटी चर्चामा आए।
उनले ‘गत बर्ष म संक्रमित हुँदा धेरै औंठी लगाएको थिएँ अनि मलाई संक्रमण भयो’ भन्नसम्म भ्याए। तर ती दाबी कतै प्रमाणित भएको कुरा उनलाई नै थाहा छैन।
त्यतिमात्र होइन, कार्यक्रम प्रस्तोता देवी गौतमलाई एउटा पोको देखाउँदै ‘धेरै पत्रकार संक्रमित हुनु भएको छ, तपाईंले पनि यो पोको सुँघ्नु’ भने। त्यो पोकोमा चारवटा खाने कपुर, चारवटा लसुन र आधा चम्चा ज्वानो रहेको उनले बताए।
पोको देखाउँदै मेयर शिवाकोटीले भने, ‘यति गरेनौं भने भाइरसले हामीलाई कोमामा लैजान्छ। हामीले भाइरसलाई कोममा लैजानुपर्छ।’
नगरका सबैलाई उक्त बस्तुहरू राखेर सानो पोको बनाएर नाकका प्वालमा पालो गरेर सुँघ्न उनले अनुरोध गरे।
गत साल पनि उनले ‘यो कोरोना सोरोना केही पनि होइन, मास्क नलगाए हुन्छ’ भनेर हिँड्दा आफैं संक्रमित भएका थिए।