आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रिबन काट्न छेकेन मेयर साहबलाई निषेधाज्ञाले !

बिहिबार, जेष्ठ २० २०७८

धनगढी– केही दिन अघी कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खुला रहेका पसलहरुलाई बन्द गराउदै हिडेका प्रहरीलाई हकारेका मेयर महादेव बजगाईले निषेधाज्ञा उल्लंघन गर्दै रिबन काटेका छन् ।

बजगाईंले जनप्रतिनिधि,कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार नगरपालिकाको वडा नम्बर १ मा निर्मित बसपार्क,वडा कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गरेका छन् ।

सर्वसाधारण र धेरै जना प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमबारे जानकारी लिन खोज्दा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफू त्यसबारे बेखबर रहेको बताउनुभएको छ ।

उता इलाका प्रहरी कार्यालय लम्कीले पनि कार्यक्रमबारे अनभिज्ञता जनाएको छ । लम्की चौकीका प्रहरी निरीक्षक भरत शाहले निषेधाज्ञाको पूर्णरुपमा पालना भएको बताउँदै मेयरको कार्यक्रमबारे कुनै जानकारी नभएको बताउनुभएको छ ।

नगर प्रमुख बजगाईंले भने आफूले कार्यक्रम उद्घाटन नगरेको बताएका छन् । २०/२५ जनाको उपस्थितिमा मात्र कार्यक्रम गर्ने बताएका उनले ठेकेदारलाई भुक्तानीको प्रक्रिया अघि बढाउनुपर्ने भएकाले औपचारिकताको लागि रिबन काटेको र पूजापाठ गरेको उल्लेख गरेका छन् ।

त्यस बखत नजिकैका स्थानीयलाई बोलाएर बजेट निर्माणको लागि सुझाव संकलन गरिएको उनले स्वीकारेका छन् । जनआश्था साप्ताहिकमा खबर छ l