आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निषेधाज्ञामा खाद्यान्न घर-घरमै पुर्‍याउने व्यवस्था मिलाइएको सिडिओको दाबी

शुक्रबार, जेष्ठ १४ २०७८

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ।

जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेकाबेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसँग छलफल गरी आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे।

उनले भने, ‘हामीले आज नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसँग छलफल गर्‍यौँ। कोरोनाको संक्रमण दर घटाउनकै लागि हामीले यो निर्णय गरेका हौँ। यस्तो अवस्थामा दाल, चामल, तेल, नुन, गेडागुडी लगायत अत्यावश्यक सामाग्रीको सहज आपूर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संयुक्त मोबाइल टीम परिचालन गरी स्थलगत रुपमा नै अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौँ।’

उनले थपे, ‘हामीले सम्पर्क नम्बरसहितको सूचना निकाल्छौँ। जहाँजहाँ आवश्यक परेको छ, उहाँहरुले सुपथ र उचित मूल्यमा दैनिक अत्यावश्यक पर्ने सामानहरु खरिद गर्न सक्नुहुन्छ। हामीसँग खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुका जानकारीअनुसार अहिले प्रसस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामाग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौँ। अहिले एक हप्ताको लागि यिनै दुई संस्थाबाट उपभोक्ता संरक्षण मञ्चको पदाधिकारीको उपस्थितिमा विक्री वितरणको व्यवस्था मिलाइएको छ। सर्वसाधरण नागरिकले किन्नै नपाइने हो कि, हाहाकार हुने हो कि, पसलमा छैन कि भन्ने चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ।’

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट अनलाइनका माध्यमबाट यथाशीघ्र खाद्य सामाग्री मागको विवरण संकलन गर्ने र सोही बमोजिम गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ।

त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अनलाइनमार्फत गाडीको रुटहरु एकिन गरी स्थानीयस्तरमा स्थानीय तहको समन्वय गरी स्थलगत रुपमा नै खाद्यबस्तुहरु उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने बताइएको छ।

त्यसको व्यववस्थापन गर्नका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी , चालक र कर्मचारीको निर्वाध आवागमनको लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्नेछ।

मोबाइलबाट खाद्य आपूर्ति गर्ने सम्बन्धमा तोकिएको स्थान र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति एवं सार्वजनिक सूचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

खाद्य आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन नियमित समिक्षा गर्ने र केही समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए। उनले आपत विपतमा परेका र अत्यन्तै विपन्न नागरिकहरुलाई खाद्यान्न अभाव भएमा आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाउन सम्बन्धित सबै स्थानीय तहलाई अनुरोध गरिने बताए।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्य दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरी मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता र माग भए बमोजिम टोलटोलमा परिचालन गरिने बताए।

खाद्य व्यवस्था व्यापार कम्पनीका विभागीय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाइन डेलिभरी दिनसक्ने स्थितिमा आफूहरु रहेको भन्दै काठमाडौँ उपत्यकाका टोलटोलमा खाद्य सामाग्री पठाउन सक्ने व्यवस्थापकीय तयारी गरिएकाले ढुक्क हुन सबैलाई आग्रह गरे।

छलफलमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले कोभिड १९ संक्रमणको दोश्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसँगै खाद्यबस्तुको सहज उपलब्ध गराउने व्यवस्था मिलाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अत्यन्तै सकारात्मक भएको बताए।

अघिल्लो वर्षको बन्दाबन्दी विना पूर्वतयारी गरिएकाले समस्या भएको भन्दै अहिले भने सर्वसाधरणको मागअनुसार स्थानीयस्तरमा नै खाद्यान्न उपलब्ध गराउने विषय सकारात्मक रहेको भन्दै कुनैपनि किसिमले यस निर्णयलाई राजनीतिकरण गर्न नहुने तर्क गरे।

जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौँ जिल्लामा निषेधाज्ञालाई कडाई गरिएको छ। अत्यावश्यक सेवा बाहेक किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्ट स्टोरहरु पनि २० गतेसम्म खोल्न पाइने छैन।