आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

खड्गजित बराल : जो नेपाल प्रहरीका अभूतपूर्व आईजी थिए

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरिक्षक खड्गजित बरालको बुधबार निधन भएको छ। ९३ बर्षिय बराल प्रहरीमा भूतपूर्व होइन, अभूतपूर्व आईजीका रुपमा स्थापित थिए । 
प्रहरी प्रमुखका रुपमा उनले देखेको इतिहाससँग अन्य कोही पनि सुपरिचित नहुनुमात्र होइन, संगठन संरचना निर्माणदेखि प्रहरीको जग बसाउनेसम्म उनको भूमिका प्रभावकारी थियो ।  
पूर्वडिएसपी शिवजी श्रेष्ठ लेख्छन्,‘यस्ता आईजी नेपाल प्रहरीले अहिलेसम्म जीवित पाएको थियो। अब उहाँ नरहनुले एउटा जीवित इतिहासको अन्त्य भएको छ। प्रहरीका लागि क्षति हो ।’
राणा कालमा प्रजातन्त्रका लागि मुक्ति सेनामा लागि लडेका बराल नेपाल प्रहरीको स्थापना कालदेखि कार्यरत थिए । विस २०१३ सालमा नेपाल प्रहरीको निरिक्षक (इन्स्पेक्टर)मा भर्ती भएका उनी सर्वोच्च पद आईजी भएका थिए। २४ बर्षमा प्रहरीमा छिरेका उनी ४५ बर्षको उमेरमा नै आईजी भए । 
महाराजगञ्जस्थित निवासमा नै निधन भएका उनको बुधबार नै अन्त्येष्टि भएको छ। नेपाल प्रहरीको कायाकल्प गराउने यात्राको नेतृत्व गरेका बरालले प्रजातान्त्रिक आन्दोलनमा पनि आफूलाई अब्बल देखाएका थिए। राणा, कांग्रेस र राजाबीचको सहमतिबारे जान्ने उनी जीवित दस्ताबेज थिए ।
‘प्रजातन्त्रका लागि मुक्ति सेनामा लामो समय काम गरेको अनुभव, त्यसपछि अध्ययन र फेरि सुरक्षा क्षेत्रमा नै सुधारका काम गर्ने ध्येय कोहीसँग हुँदैन’, उनलाई नजिकबाट चिन्नेहरु भन्छन् ।  
प्रहरी महानिरिक्षक (आईजी)को पदमा सबैभन्दा धेरै ६ बर्षसम्म रहेर नेतृत्व गरेका उनले संगठनको जग बसाएका थिए। प्रहरीको सुविधाका विषयमा अवधारणा नै उनले स्थापित गरिदिए। बरालको पालामा नै प्रहरीलाई राशन, कपडालगायतको सुविधा सुरु गरिएको थियो भने संगठनका भवनलगायतका भौतिक पूर्वाधार स्थापनाको क्रम चलेको थियो ।  ‘त्यसबेला यस्ता सुविधा थिएनन्। जब म प्रमुख भएँ यी सबै सुधारका काम सुरु भए’, उनले दिएका विभिन्न अन्तरवार्तामा उल्लेख छन्,‘प्रहरीका भवन थिएनन्। लुगासम्म किन्नुपर्ने थियो। ति सबै व्यवस्थित बनाउन पहल गरें ।’
बरालले ०३४ सालसम्म करिब २१ बर्ष नेपाल प्रहरीमा सेवा गरे ।