-गाउपालिकाकै निणर्यमा ठूला उपकरण प्रयोग
****************
पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा न. १ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामाग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको पाइएको छ ।
उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामाग्रीहरुको चरम दोहन गरिएको हो । विगतका वर्षहरुमा पनि उक्त खोलाबाट नदिजन्य सामाग्रीहरु निष्कासन गर्ने गरिएको भएतापनि चालु आव २०७७÷०७८ को खोलाजन्य सामाग्री निष्कासनको लागि गरिएको ठेक्कामा भने अत्याधिक दोहन भएको स्थानियहरुले गुनासो गरेका छन् ।

खोलाको अवैध उत्खननको असर भने विगतका वर्षहरुबाट देखिदै आएको उनिहरुले बताएका छन् । सुस्ता १ रुपौलियाकी माया सापकोटाले भनिन् ‘यस क्षेत्रका पानिका मुहानहरु सुक्न थालेका छन्, आगामी वर्षहरुमा खानेपानिको चरम संकट देखिने भएको छ ।’ त्यस्तै अवैध दोहनबाट खोलाले धार परिवर्तन गरी उक्त खोला मानव बस्ती तर्फ प्रवेश गर्न जोखिम रहेको अर्का स्थानिय भवानी संकर अर्यालले बताए ।

यसै प्रकारले खोलाको दोहन हुदैँ गएको अवस्थामा आगामी केही वर्षमा त्यस क्षेत्र मरभुमिको रुपमा परिणत हुने अर्का स्थानिय टंक चापागाई बताउँछन् ।

त्यस्तै अवैधानिक दोहनको प्रतिकार गरेका स्थानियहरुलाई ठेकेदारका व्यक्तिहरुले हातपात समेत गरेका छन् । आइतबार प्रतिकार गर्न पुगेको अवस्थमा आफूहरुलाई ठेकेदारका व्यक्तिहरुद्धारा हातपात गरिएको स्थानिय महेश मुसहरले बताए । त्यस्तै आफूहरुमाथि हातपात भएको व्यहोरा सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेलाई फोन मार्फत जानकारी गराउँदा पाण्डेले आफूलाई कुनै मतलब नभएको भन्दै गैर जिम्मेवार जवाफ दिएको उनिहरुले बताएका छन् ।
सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गाउपालिकाकै सिफारिसमा खोलामा ठुला उपकरणहरु प्रयोग गरिएको स्वीकारेका छन् । पाण्डेले पछिल्लो समय कोराना माहामारीको जोखिन बढ्दै गएको बताउँदै भने ‘कोदालो र बेल्चाले सामाग्रीहरु निकाष्सन गर्दा धरै भिडभाड हुने भएकाले ठुला उपकरण प्रयोगको लागि सिफारिस गरिएको हो ।’

गाउपालिकाले जिल्ला समन्वय समितिलाई ठुला उपकरण प्रयोग गर्न दिनका लागि सिफारिस गरेको पालिका अध्यक्षको भनाई रहेको छ । तर, पालिकालाई त्यस प्रकारको सिफारिस गर्ने अधिकार नरहेको विज्ञहरुले बताएका छन् ।
यस अघिका वर्षहरुमा उक्त खोलाको ठेक्का ५० लाखको हाराहारी जाने भएतापनि यस वर्ष भने सोही खोलाको ठेक्का करिब १ करोड ५० लाख पुगको हो । पाण्डेले ठेक्कामा गरिएको लगानी घाटा हुन नदिनको लागि समेत ठुला उपकरणहरुको आवश्यकता रहको जिकिर गरेका छन् ।
संघर्ष समितिमाथि हातपात
उक्त खोलाबाट निष्कासन गर्ने खोलाजन्य सामाग्री मापदण्ड अनुसार अर्थात प्रतिकुल असर नपर्ने गरी निकाष्सन गर्न दवाव सिर्जना गर्नको लागि सुस्ता गाउपालिका वडा न. १ र २ का युवाहरु सम्मिलित एक संघर्ष समिति समेत गठन गरिएको थियो । उक्त संघर्ष समितिका सह–संयोजक ज्ञानु खनाललाई ठेकेदारका व्यक्तिहरुले हातपात गरेका हुन् । हातपातमा युवा संघ नेपालका केन्द्रिय सदस्य हरिदेव पाण्डे, सुक बहादुर गुरुङ लगायतको समुह संलग्न रहेको सुनिन आएको छ । गुरुङ बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका छन् ।
त्यस्तै अवैध दोहनको विरुद्धमा आवाज उठाइरहेका अभियन्ता तथा अगुवाहरुलाई समेत उनीहरुले धाकधम्की दिने गरेका छन् । अगुवाहरुको घर घरमै आएर पाण्डे लगायतको समुहले आफूहरुलाई विभिन्न प्रकारको धम्की दिने गरेको उनीहरुले बताएका छन् ।
उनीहरुले राजनैतिक पहुँच र शक्तिको आडमा खोलाको दोहान गरिएको पाइएको हो ।

त्यस्तै त्यहाँको स्थानिय प्रहरीहरु समेत मुकदर्शक रहेको स्थानियको गुनासो रहेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीको टोली औपचारिकताको रुपमा मात्रै खोलाक्षेत्रमा आउने तर अवैध दोहन नियन्त्रणको लागि ठोस कदम नचालेको उनीहरुले बताएका छन् ।