काठमाडौं । राष्ट्रिय गौरबका आयोजनामा सरकारले यो वर्ष पनि खर्चन सकेको छैन । ९ महिना बित्दा सम्म जम्मा ३० प्रतिशत मात्रै रकम खर्च भएको छ ।
सरकारले २१ वटा आयोजनालाई राष्टिय गौरबका आयोजनामा राखेको छ । जसका लागि यो वर्ष सरकारले ९० अर्ब ९५ करोड रकम छुट्टाएको थियो । जसमध्ये अहिलेसम्म २७ अर्ब ७३ करोड मात्रै खर्च भएको छ । जुन बिनियोजित बजेटको ३० प्रतिशत मात्रै हो ।
बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षका लागि ८ अर्ब १ करोड विकास बजेट छुट्याएको छ । नौ महिनाको अवधिमा यस आयोजनामा १ अर्ब ५३ करोड अर्थात् १९ प्रतिशत मात्र खर्च भएको छ ।
८ अर्ब ८४ करोड बजेट रहेको काठमाडौं–तराई द्रूत मार्गमा २२ प्रतिशत मात्र प्रगति भएको छ । राष्ट्रिय गौरवका आयोजना उत्तर दक्षिण राजमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगायतमा पनि प्रगति राम्रो छैन ।
यसै आर्थिक वर्षका लागि २ अर्ब ९८ करोड छुटाइएको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा ६२ करोड ६८ लाख खर्च भएको छ । यो भनेको २१ प्रतिशत मात्र हो । सिक्टा, बबई, रानी जमरा लगायतका सिँचाइ आयोजना, हुलाकी र पुष्पलाल मध्यपहाडी राजमार्ग पनि वर्षौँदेखि अल्झिरहेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वपश्चिम रेलमा त प्रारम्भिक काम पनि सुरू भएको छैन । नौ महिनामा ठूला आयोजनाको जम्मा प्रगति ३३ प्रतिशत मात्र रहेको सरकारी विवरणले देखाउँछ ।विभिन्न समस्याबाट ग्रसित ठूला आयोजनामा कोरोना महामारीको कारण देखाएर गत वर्ष काम रोकिएको थियो । यो वर्षको सुरूबाट तंग्रिने अपेक्षा गरिएका आयोजना महामारीको दोस्रो लहर चल्दा निषेधाज्ञाकै बीच कसरी अघि बढाउने भन्नेतिर ध्यान दिइएको छैन ।