बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज विश्व प्रेस स्वतन्त्रता दिवस !

सोमबार, बैशाख २० २०७८

काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस, भर्चुअल कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। 

दिवसको अवसरमा ‘सार्वजनिक सम्पातिका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ। दिवसको अवसरमा नेपाल पत्रकार महासंघले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ। बिहान ९ बजे भर्चुअल कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। विगतका वर्षहरुमा प्रभातफेरी, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम हुदै आएकोमा यो वर्ष कोरोना महामारीका कारण भर्चुअलमा सिमित हुने भएको हो। 

कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नभएपछि महासंघले भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासंघले जनाएको छ। अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ। 

यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ। महासंघका अनुसार नेपालमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन्। ती घटनाबाट ५ सय ८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन्। 

यस्तै ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेख अनुसार यस वर्ष ६ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन्। त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५ सय १७ पत्रकार विस्थापनमा परेका छन्। 
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष विपुल पोख्रेलले कोरोनाको संक्रमणकाबीच पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने चुनौति रहेको बताएका छन्। उनले कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरे।