बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

आइतबार, बैशाख १९ २०७८

काठमाडौं ।  झापाको धादिङ, मकवानपुर र नवलपरासी (पूर्व) का छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 
झापाको बिर्तामोड नगरपालिका–४ पारिजात टोलस्थित सडकमा मे.१ त ७००५ नम्बरको ट्याक्टरको ढाला पल्टिएर चोट लाग्दा ट्याक्टरका सहचालक सोही नगरपालिका–३ बस्ने २० वर्षीय बाबु भन्ने सन्दिप अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट बालुवा अन लोड गर्न ब्याक गर्नेक्रममा बालुवा माथि बसेको अवस्थामा ढालाले चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
धादिङको गल्छी गाउँपालिका–५ तिरतिर खोलास्थित सडकमा बा.४ ख २११८ नम्बरको टिपरबाट लडि सोही टिपरले किच्दा टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय शुक्र बहादुर तामाङको शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका टिपरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ सामुदायिक पशुपतिनगर कार्यालय अगाडि सडकमा ना.३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बा.८ च २९५३ नम्बरको कारले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा महागढीमाई नगरपालिका–४ बस्ने ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी कावासोती नगरपालिका बस्ने ३३ वर्षीया ज्योती अर्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ होङसिको गेटभित्र लोडिङ पोईन्टमा ना.८ ख २५०० नम्बरको ट्रकको ठक्करबाट हाल वतन नखुलेका सोही ठाउँमा सेक्युरिटी गार्डको काम गर्ने ३४ वर्षीय बाबु सहनीको शनिबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।