आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकार जोगाउन सांसद गायब

बिहिबार, बैशाख १६ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अगावै विपक्षी सांसद हराउने क्रम शुरु भएको छ ।

जनमोर्चाका तीन जना सांसदमध्ये खिमविक्रम शाहीको मोबाइल अफ छ भने उनी अन्य सांसदसँग सम्पर्कविहीन भएका छन् । उता स्वतन्त्र सांसद दिपक मनाङ्गेको मोबाइल पनि अफ रहेको बताइन्छ ।

खिमविक्रम शाहीलाई अकस्मात “सख्त बिमार” भएकाले कसैले भेट्न नसक्नेगरी गण्डकी हस्पिटलको आईसियुमा भर्ना गरिएको बताइएको छ ।

नेपाली काँग्रेस र माओवादीले सत्ताको चलखेलबाट जोगाउन विपक्षी सांसदहरुलाई केहि दिनदेखि लेकसाईडको कुटी रिसोर्टमा राखेका थिए । आज एकाएक सम्पर्कविच्छेद भएपछि शाहीलाई सर्वत्र खोज्दा पनि नभेटिएको काँग्रेस स्रोतले बताएको छ ।

आज बिहानसम्म सकुशल रहेका शाही एकाएक गम्भीर बिरामी परेको भन्दै भेटघाटमा रोक लगाइएको छ । प्रदेशसभाको बैठकमा अनुपस्थित भएर प्रस्ताव असफल बनाउन उक्त खेल रचिएको जनमोर्चाका अन्य सांसदले बताएका छन् ।

गण्डकीमा विपक्षीतर्फका एक जना सांसद मात्र अनुपस्थित भएमा प्रदेश सरकार जोगिन्छ । तर,अहिले दुई जना सम्पर्कविहीन भएपछि उक्त सम्भावना बढेर गएको हो । प्रदेशसभामा केही बेरमै अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ ।