बढ्दै गरेको कोरोना संक्रमणको दोस्रो लहरलाई रोकथाम गर्ने उद्देश्यले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अर्को आदेश नभएसम्मका लागि भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आइतबार दिउँसो बसेको सीसीएमसीको बैठकले विद्यार्थीहरुको पढाईलाई भर्चुअल र वैकल्पिक माध्यमबाट जारी राख्ने निर्णय समेत गरेको छ ।
हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । विज्ञहरूले तत्काल स्वास्थ्य सावधानी अपनाउन सरकारलाई सुझाव दिएका छन् ।
आइतबार (१२ वैशाख) मात्रै ३१ सय २२ जना कोरोना संक्रमित भएका छन् भने २८ जनाले ज्यान गुमाएका छन् ।