आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भोलि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने

सोमबार, बैशाख १३ २०७८

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ, उक्त अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने भएको छ ।

‘पहिलो दिन सबै दलका नेताहरुले आफ्नो कुरा राखिसकेपछि मुख्यमन्त्रीज्यूले जवाफ दिनुहुनेछ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘त्यसको भोलिपल्ट (१४ गते) पनि छलफल नै हुने र तेस्रो दिनमात्रै मतदान हुने कार्यसूची तय भएको छ ।’

थापाका अनुसार अविश्वासको प्रस्तावउपर भने वैशाख १५ गते मतदान हुने भएको छ ।

मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव दर्ताको अघिल्लो रात वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । उनको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमा संसद अन्त्य गरेका थिए ।

चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गरेका थिए । सोही मागबमोजिम प्रदेश प्रमुखले वैशाख १३ गते दिनको २ बजेबाट सुरु हुने गरी विशेष अधिवेशन डाकेका हुन् ।

मुख्यमन्त्री गुरुङको विकल्पमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेससहित माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने बताउँदै आएको छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । २७ सदस्यीय एमालेलाई जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अलपमतमा परेका हुन् । ‘फ्लोर क्रस’ नभएको खण्डमा अविश्वासको प्रस्ताव पारित भए उनको पद स्वतः जानेछ ।