बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ र पुरानो धरहराविच के फरक छ ?

आइतबार, बैशाख १२ २०७८

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा विसं १८८२ मा पहिलोपटक ११ तलाको धरहरा निर्माण गर्न लगाएका थिए। विसं १९९० को भूकम्पबाट भत्किएपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पुनर्निर्मित धरहरा उद्घाटन गरेका थिए। १२ वैशाख ०७२ को भूकम्पबाट भत्किएको धरहराको भग्नावशेष १० मिटरनजिकमा कायम राखेर शनिबार २२ तलाको अर्को धरहरा उद्घाटन गरिएको हो।

धरहरा स्थापनादेखि हालसम्म आइपुग्दा यसको संरचना फरक बन्दै आएको छ। हाल निर्माण गरिएको धरहरा नयाँ शैलीमा भूकम्प प्रतिरोधी बनाइएको राष्ट्रिय प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए। उनका अनुसार पुरानो संरचनामा केही थप गरिएको छ।

पुरानो धरहरा

१२ वैशाख ०७२ सम्म धरहरा क्षेत्रले साढे चार रोपनी क्षेत्रफल ओगटेको थियो, जसको सातौँ तल्लामा बार्दली थियो। त्यो धरहराको उचाइ ६३ दशमलव ८ मिटर थियो।

‘भूकम्पले भत्काएको धरहराभित्र २१३ र बाहिर २५ सिँढी थिए,’ इन्जिनियर मानन्धरले भने, ‘धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो।’

पुरानो धरहराको नवौँ तलामा शिवलिंग राखिएको थियो भने टुप्पोमा गजुर थियो। उक्त धरहरा गोलाकार थियो। गोलाकार आयतन आठ मिटर थियो।

पुरानो धरहरामा इँटा, बज्र (सुर्की, चुना, मास र चाकुको मिश्रण)बाट बनाइएको थियो। उक्त धरहरा भूकम्प प्रतिरोधी भने थिएन। धरहरा प्रवेशपछि स-साना खाजा पसल थिए।

नयाँ धरहरा

१२ पुस ०७५ मा दिन प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए।

नयाँ धरहरा निर्माणका लागि जीआईईटीसी-रमन जेभीले ठेक्का पाएको थियो। सोही कन्स्ट्रक्सनले काम गरिरहेको छ। ‘नयाँ र पुरानो धरहरामा फरक छ,’ इन्जिनियर मानन्धरले भने, ‘अहिलेको धरहरा भूकम्प प्रतिरोधी बनाइएको छ।’

उनका अनुसार अहिलेको धरहरा ४२ रोपनी क्षेत्रफलमा छ र ८२ मिटर अग्लो छ।  गोलाकारको आयतन १४ दशमलव २ मिटर छ। पुनर्निर्मित धरहरा कुल २५ तलाको छ।

पहिला धरहरा मात्रै थियो। अहिले गाडी पार्किङका लागि ३ तला छुट्याइएको छ। दुईवटा संग्रहालय हुनेछन्। भूकम्प र मीन (सिक्का बनाउने) संग्रहालय हुनेछन्।

पर्यटकीय गतव्य बनाउने हिसाबबाट धरहरा पुनर्निर्माण गरिएको छ, जसमा दुईवटा लिफ्ट र एउटा भर्‍याङ राखिएको छ। २२ औँ तलामा शिवलिंग स्थापना गरिएको छ, जुन ८ वैशाख ८ मा प्रतिस्थापन गरिएको हो।

धरहरा पुनर्निर्माणका लागि ३०८ करोड रुपैयाँमा निर्माण व्यावसायीसँग सम्झौता भएको छ। त्यसमध्ये करिब २१० करोड रुपैयाँ खर्च भइसकेको इन्जिनियर मानन्धरले जानकारी दिए।